FAQs Complain Problems

परिचय

गैंडाकोटको परिचय

गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित साविक नवलपरासी जिल्ला बाट टुक्रिएर बनेको पूर्वी तर्फको खण्ड नवलपरासी (ब.सु.पू) जिल्लाको पूर्वी भागमा पर्दछ । नेपालको राजधानी शहर काठमाडौंबाट १५० कि.मी. दक्षिण पश्‍चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि.मी. दक्षिणमा अवस्थित छ । यसको पूर्व र दक्षिणमा चितवन जिल्ला (भरतपुर महानगरपालिका), पश्‍चिममा देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका, उत्तरमा तनहुँ जिल्ला रहेको छ । यसको पूर्व र दक्षिणमा नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालिगण्डकी नदि र पश्‍चिम तर्फ झरही खोलाले सिमाना छुट्टाएकोले यसलाई नदिवेश्ठित नगरपालिका भन्न सकिन्छ । यस नगरपालिकाको कार्यालय २७.७०४९  डिग्री अक्षांश र ८४.३९१२ ( Google नक्सामा हेर्नुहोस ) डिग्री देशान्तरमा अवस्थित रहेको छ ।

नेपाल सरकारबाट मिति २०७१।१।२५ मा घोषणा भई २०७१।२।७ मा कार्यानवयनमा आएको यस गैंडाकोट नगरपालिका साविक गैंडाकोट, मुकुन्दपुर, अमरापुरी र रतनपुर (२०७३ मा थप भएको) ४ गा.वि.स. समावेस गरि १८ वटा वडामा विभाजन गरिएको छ । गैंडाकोट नगरपालिका चितवन राष्ट्रिय निकुञ्जको उत्तर तर्फ रहेको र यहाँ बस्ति बस्नु भन्दा अगाडी गैंडा रहने स्थान भएकाले यस नगरपालिकाको नामकरण गैंडाकोट रहेको अनुमान गर्न सकिन्छ । १५९.९३ बर्ग कि.मि. क्षेत्रफल ओगटेको यस नगरपालिकामा ४१४२० जना महिला तथा ३७९२९ जना पुरुष गरि जम्मा ७९३४९ जनसंख्या रहेको छ (जनगणना २०७८) ।

यस नगरपालिकाका प्रमुख धार्मिक, साँस्कृतिक पर्यटकीय स्थलहरुमौलाकालिका मन्दिर (वडा नं. १) , कैलाश सन्यास आश्रम (वडा नं. १३), श्रीलक्ष्मी नरसिंह दिव्यधाम (वडा नं. १), लक्ष्मीनारायण मन्दिर (वडा नं. १), गैंडाकट्टा शिला (वडा नं. ९), मणि मुकुन्दसेन दरबार, महाबौद्ध गुम्बा (वडा नं. ९), नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज लगायतका रहेका छन् ।

नगरभित्र साना ठुला गरी २७८ वटा उद्योगहरु रहेका छन । नगरभित्र ८ वटा क वर्गका बाणिज्य बैंक, ५ वटा ख वर्गका विकास बैंक, ४ वटा फाईनान्स, ९ वटा लघुवित्त संस्थाहरु संचालित छन भने देशकै उत्कृष्ट मध्येका विकू, किसान, गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था सहित २३ वटा बचत तथा ऋण सहकारी संस्था, ७ वटा कृषि र ३ वटा दुग्ध गरी १० वटा उत्पादक सहकारी संस्था, ३ वटा उपभोक्ता/सेवा सहकारी संस्था र ४ वटा बहुउद्देश्यीय सहकारी संस्था गरी ३७ वटा सहकारी संस्थाहरुको संचालनबाट नगरको आर्थिक गतिविधि चलायमान रहेको छ । यस नगर भित्र करिब ५००० व्यवसाय  संचालनमा रहेका छन ।

यस नगर भित्र ५३० वटा पशु पंछी फर्म,  १७७ वटा कृषक समूह र ७ वटा कृषि सहकारी दर्ता भई संचालनमा रहेका छन । यहाँ धान, सुन्तला, मकै,मौरी, च्याउ र केरा पकेट क्षेत्र रहेका र मकै, धान, मह  र च्याउमा आत्मा निर्भर छ । समथर उर्वर खेतियोग्य भूमि र केही पहाडी खण्ड रहेको यस नगरपालिकामा सुन्तला देखि तर्बुजा फल्ने स्थान छन् । मकैको राजधानी भनेर चिनिने यस क्षेत्रमा बाह्रै महिना मकै फल्ने हुँदा पूर्व पश्‍चिम यात्रा गर्नेहरुका लागि पोलेको मकैका लागि प्रख्यात छ ।

यस नगरपालिकामा ३५ वटा सामुदायिक,२१ वटा संस्थागत, ५ वटा धार्मिक, २ वटा सामुदायक सिकाइ केन्द्र,  ४० वटा बाल विकास केन्द्र, समुदायमा आधारित बालविकास केन्द्र ३ वटा र मन्टेस्वरी १० वटा  रहेका छन् ।

१ गैंडाकोट अस्पताल,१ आयुर्वेद औषधालय, ३ वटा स्वास्थ्य चौकी, ११ वटा आधारभूत स्वास्थ्य केन्द्र, रहेका छन् । निजि क्षेत्र तर्फ ६३ वटा  स्वास्थ्य संस्था रहेका छन् ।

अवसर एवं संभावना

  1. नारायणी र कालीगण्डकी नदीमा जलयात्रा र नदी किनारमा मनोरञ्जन स्थल निर्माणको उच्च सम्भावना छ । प्रसिद्ध तिर्थस्थल देवघाट र त्रिवेणीबीच नारायणी नदीको साना जहाज र मोटरबोट जलयात्राले जोड्ने संभावना रहेको छ, यसले गर्दा गैंडाकोट नगरपालिकाको नारायणी तटमा River Beach प्रर्वद्धन गर्न सकिन्छ ।
  2. मौलाकालिका, मणिमुकुन्दसेन दरबार, कैलास सन्यास आश्रमलाई मुख्य पर्यटकीय आकर्षणका केन्द्र बनाउन सकिने ।
  3. नेपालको मध्य तराईभागमा पर्ने यस नगरको वीचबाट पूर्व पश्‍चिम राजमार्ग वारपार हुने, नारायणगढ, देवघाट आदि नजिकमा पर्ने, अत्यधिक मानिसहरूको यात्रा हुने स्थल भएकोले व्यापार, व्यवसाय, उद्योग धन्दाको प्रचुर सम्भावना रहको छ । नजिकको ठूलो शहर भरतपुरको लाभ लिन र असल अभ्यास सिक्न सकिने ।
  4. जीप फ्लायर रक क्लाइम्बिङ, राफ्ट्रिङ, बोटिङ जस्ता आधुनिक साहसिक पर्यटन प्रवर्द्धन गर्न मिल्ने स्थानहरूको उपलब्धता रहेको ।
  5. चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे  गैंडा, बाघ, भालु, मयूँर लगायतका जीवजन्तुको अवलोकन र पर्यापर्यटनको आनन्द लिन सकिने ।
  6. बार्है महिना मकै फल्ने उर्वर भूमिरहेको कृषि र पशु पालन ब्यवसायको प्रचुर संभावना र बजारको सहज पहुँचको अवस्था रहेको ।
  7. सबै जातजाती, भाषा भाषी, धर्म संस्कृति बीच धार्मिक र सांस्कृतिक सहिष्णुता र ऐक्यबद्धता रहेको ।
  8. नेपाल विश्वविद्यालय स्थापनाको चरणमा रहेकाले उच्च शिक्षाको लागि केहीहद सम्म विदेश जानु नपर्ने अवस्थाको सिर्जना हुने ।
  9. जडीबुटि, वनजंगल, सिमसार, नदी र सार्वजनिक जमिनले समृद्धिको आधार प्रदान गरेको ।
  10. बौद्धिक सम्पत्तिको धनि र नागरिकहरुमा उच्च चेतनाको स्तर रहेको ।